झाडी फाडेर अकबरे खुर्सानीखेती, १० लाख आम्दानीको लक्ष्य.


बुधवार, ६ जेठ २०८३

स्याङ्जाको भिरकोट नगरपालिकामा बाँझो जमिनलाई उपयोग गर्दै युवाहरूले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न थालेका छन्। Bhirkot Municipality–९ सिर्कोट पिपलडाँडामा करिब ३० रोपनी क्षेत्रफलमा खेती सुरु गरिएको हो।

दुई युवाको अगुवाइमा सुरु गरिएको यो परियोजनाले झाडी र बाँझो जमिनलाई उत्पादनशील बनाउने लक्ष्य लिएको छ। केही वर्षअघि सानो स्तरमा परीक्षण खेती सफल भएपछि यसलाई व्यावसायिक रूपमा विस्तार गरिएको किसान तनबहादुर गुरुङले बताएका छन्।

वैदेशिक रोजगारीमा आठ वर्ष बिताएर फर्किएका गुरुङले विदेशमा कमाएको अनुभव आफ्नै गाउँमा प्रयोग गर्ने उद्देश्यले खेती सुरु गरेका हुन्। उनका अनुसार अहिले करिब १० हजार बिरुवा रोपिइसकिएको छ भने यस वर्ष २० हजार बिरुवा थप्ने तयारी छ।

उनका अनुसार बाँझो जमिनमा खेती विस्तार गर्नका लागि थप १० रोपनी जग्गा भाडामा समेत लिइएको छ। स्थानीयस्तरमै अकबरे खुर्सानीको माग राम्रो भएकाले बजार समस्या नहुने अपेक्षा गरिएको छ।

किसान समूहका अनुसार प्रतिमाना करिब १०० रुपैयाँ र प्रतिकिलो करिब ३५० रुपैयाँसम्म बिक्री हुन सक्ने अनुमान छ। यस वर्ष करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ।

बाँदरलगायत वन्यजन्तुले अन्य बाली नष्ट गर्ने समस्या भएकाले खुर्सानीलाई विकल्पका रूपमा रोजिएको किसानहरूको भनाइ छ। खेती विस्तारका क्रममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।

स्थानीय तहले पनि व्यावसायिक अकबरेखेतीलाई प्रवर्द्धन गर्दै आएको छ। भिरकोट–९ मा मात्रै करिब ९० रोपनी क्षेत्रमा खेती विस्तार भएको र करिब १०० जना किसान यस अभियानमा जोडिएको वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिएका छन्।

यो पहलले बाँझो जमिन उपयोगसँगै गाउँमै रोजगारी सिर्जना हुने र युवाको विदेश पलायन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments