कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा भेला गर्ने, सार्वजनिक भयो तालिका


काठमाडौं | २४ वैशाख २०८३


नेपाली कांग्रेस को अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको प्रथम बैठकले ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ सञ्चालन गर्ने निर्णयसँगै मिति र स्थानसमेत तय गरेको हो।

बुधबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सभापति गगनकुमार थापा को उपस्थितिमा उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा ले अध्यक्षता गरेका थिए।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख २६ र २७ गते धनगढी मा सुदूरपश्चिम प्रदेशस्तरीय भेला हुनेछ। त्यसपछि वैशाख २८ र २९ गते सुर्खेत, वैशाख ३१ र जेठ १ गते पोखरा मा कार्यक्रम तय गरिएको छ।

यस्तै, जेठ ४ र ५ गते धुलिखेल, जेठ ६ र ७ गते बर्दिवास, जेठ ८ र ९ गते लौकी तथा जेठ १४ र १५ गते तिलोत्तमा मा प्रदेशस्तरीय भेला आयोजना गरिनेछ।

बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ। कार्यक्रममा सभापति थापाले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै प्रतिष्ठानको भूमिका, जिम्मेवारी र अधिकारबारे जानकारी गराएका थिए।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments