![]() |
| पालिका स्तरीय साकेला प्रतियोगितामा नृत्य गर्दै प्रतियोगीहरु । तस्बिर : राधा लुइटेल |
पाँचथर — उभौली पर्वको अवसरमा फिदिम नगरपालिकामा आयोजित पालिका स्तरीय आमन्त्रित साकेला नृत्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
किरात राई यायोख्खा जिल्ला कार्य समिति पाँचथरको आयोजनामा तथा फिदिम नगरपालिकाको प्रवर्द्धनमा जिल्ला समन्वय समिति पाँचथरको खुला मञ्चमा प्रतियोगिता सम्पन्न गरिएको हो। कार्यक्रममा चार टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा फिदिम नगरपालिका वडा २ र ३ को संयुक्त टोली उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। उक्त टोलीले नगद ३५ हजार रुपैयाँ पुरस्कार जितेको हो। आयोजक किरात राई यायोख्खा दोस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो।
त्यसैगरी मिक्लाजुङ गाउँपालिका–२ तेस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ प्राप्त गर्दा फालेलुङ गाउँपालिका–५ ले सान्त्वना स्थानसहित २० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा मगर संघ, तामाङ घेदुङ, नेवा देबु तथा किरात याक्थुङ चुम्लुङलगायत विभिन्न जातीय संघ–संस्थाको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार साकेला नृत्य प्रतियोगिताले किरात समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको छ।
कार्यक्रम गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको हो। जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे प्रमुख अतिथि रहेका थिए भने विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.