काठमाडौं उपत्यकाभित्र नदी किनारका ...

 


काठमाडौं उपत्यकाभित्र नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण यही शुक्रबारदेखि सुरु हुने भएको छ। सहरी विकास मन्त्रालयले पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेपछि अब थप क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी पूरा भएको जनाएको छ।


यसअघि सिनामंगल, शान्तिनगर, मनोहरा र थापाथली आसपासका बस्तीहरू स्थानान्तरण गरिसकिएको थियो। अब दोस्रो चरणमा थप जोखिममा रहेका बस्तीलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।

सरकारले स्थानान्तरणलाई व्यवस्थित बनाउन विशेष योजना बनाएको छ। प्रभावित नागरिकलाई बसमार्फत दशरथ रंगशालामा ल्याई दर्ता, तथ्यांक संकलन र पहिचान प्रक्रिया पूरा गरिनेछ। सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने व्यवस्था गरिएको छ भने डिजिटल माध्यमबाट समेत विवरण संकलन गरिनेछ।

स्थानान्तरणका क्रममा आवश्यक सरसामानको सुरक्षा, अस्थायी बसोबासको व्यवस्था तथा स्वास्थ्य, मनोपरामर्श र मानवीय सहायता सेवा उपलब्ध गराइने बताइएको छ। आफैं बसोबास व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरमा राखिनेछ।

संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान गरी आवश्यक सहयोग प्रदान गरिनेछ भने अप्रमाणित व्यक्तिलाई फिर्ता पठाइने तयारी छ। साथै, नदी किनार अतिक्रमण गरी गैरकानुनी गतिविधिमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments