मिति: २२ बैशाख २०८३, मंगलवार
राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका बालबालिकामध्ये ५२ जना आजदेखि विद्यालय जान थालेका छन्। महानगरपालिकाको शिक्षा विभागले विद्यार्थी र अभिभावकसँग परामर्श गरी उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि वडा नं. १४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भर्ना प्रक्रिया अघि बढाइएको हो। उक्त विद्यालय आश्रमबाट पैदल दूरीमै रहेको छ।
नदी किनार क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगललगायत स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना हाल आश्रममा बसोबास गरिरहेका छन्। तीमध्ये ६२ पुरुष, ८० महिला (३ सुत्केरी र २ गर्भवतीसहित) तथा ६१ जना बालबालिका रहेका छन्।
विद्यालय उमेर समूहका ५२ बालबालिकामध्ये ४ जनाले यस वर्ष एसईई दिएका छन् भने केहीले कम्प्युटर, सिलाइ–बुनाइ जस्ता सिपमूलक तालिममा चासो देखाएका छन्। शिक्षा अधिकारी नमराज ढकालका अनुसार महानगरले यस्ता तालिमको व्यवस्था गर्ने तयारी गरिरहेको छ।
छात्राबास सुविधाप्रति पनि उल्लेख्य चासो देखिएको छ। ३० जना बालबालिकाका अभिभावकले आवासीय सुविधासहित अध्ययन गराउने इच्छा व्यक्त गरेका छन्। शिक्षा विभागका अनुसार ११ छात्रा र १९ छात्र छात्राबास बस्न इच्छुक छन् भने केहीले अस्वीकार गरेका छन् र अन्यबाट स्पष्ट धारणा आउन बाँकी छ।
महानगरपालिकाले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत निजी विद्यालयहरूसँग सहकार्य गर्दै योग्य र इच्छुक बालबालिकालाई छात्राबासमा राखेर निःशुल्क अध्ययनको व्यवस्था मिलाउने तयारी गरेको छ। १० वर्षमाथिका बालबालिकालाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिने जनाइएको छ।
यसअघि कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्बन्धित शैक्षिक संस्थासँग समन्वय गर्दै बालबालिकाको शिक्षालाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो। त्यसपछि विभिन्न संस्थाले संयुक्त रूपमा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
यो पहलले विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मुख्यधारमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments
Post a Comment
Online news is a fast and convenient way to stay updated with what’s happening around the world. It provides real-time information on important events and allows people to access news anytime through their devices. This makes it easier to stay informed and connected.