हर्मुज जलमार्गमा इरानको नयाँ कडाइ, जहाजलाई पूर्व अनुमति अनिवार्य


२४ वैशाख २०८३ | अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग मा इरानले जहाज आवागमनसम्बन्धी नयाँ कडा नियम लागू गरेको छ। अब उक्त रणनीतिक समुद्री मार्ग प्रयोग गर्ने सबै अन्तर्राष्ट्रिय जहाजहरूले पूर्व अनुमति लिनुपर्ने व्यवस्था लागू गरिएको इरानी राज्य सञ्चालित मिडियाले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार हर्मुज हुँदै यात्रा गर्न चाहने शिपिङ कम्पनीहरूले सम्बन्धित निकायमार्फत विद्युतीय निर्देशन प्राप्त गर्नुपर्नेछ। त्यसमा मार्गसम्बन्धी मापदण्ड, सुरक्षा सर्त तथा पालना गर्नुपर्ने नियमहरू समावेश हुने बताइएको छ।

इरानले यसलाई आफ्नो अधिकार क्षेत्रभित्र लागू गरिएको ‘सार्वभौम शासन प्रणाली’ को हिस्सा भएको दाबी गरेको छ। नयाँ प्रोटोकलअनुसार जहाजहरूले जलमार्गमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा ‘ट्रान्जिट अनुमति’ लिनुपर्नेछ।

यसअघि मोहम्मद बाघेर घालीबाफ ले हर्मुज जलमार्ग नियन्त्रणसम्बन्धी नयाँ समीकरण लागू भइरहेको बताएका थिए। उनले अमेरिका र उसका सहयोगीहरूले ऊर्जा ढुवानी सुरक्षामा खतरा सिर्जना गरेको आरोपसमेत लगाएका थिए।

यता इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) ले पनि समुद्री मार्गमा कडा निगरानी बढाउँदै जहाजहरूलाई तोकिएको मार्ग मात्रै प्रयोग गर्न चेतावनी दिएको छ। निर्धारित कोरिडोर बाहिर गए सैन्य हस्तक्षेप हुन सक्ने चेतावनीसमेत दिइएको छ।

विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने हर्मुज जलमार्गबाट ठूलो परिमाणमा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गर्छ। यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा बजारमा असर पार्न सक्ने चिन्ता बढेको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .



Comments