रोशी खोलामा जोखिम: ८९ यात्रु सुरक्षित उद्धार, ५ चालक पक्राउ

२२ बैशाख २०८३, काभ्रेपलाञ्चोक

अविरल वर्षापछि रोशी खोलामा आएको आकस्मिक बाढीले बीच धारमै अड्किएका यात्रुहरूको उद्धार गरिएको छ। सोमबार साँझदेखि परेको वर्षाले पानीको बहाव तीव्र बनेपछि पाँचवटा माइक्रोबस खोलामै फसेका थिए, जसमा सवार ८९ जना यात्रुहरू जोखिममा परेका थिए।

नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले मंगलबार बिहान करिब १ बजे सबै यात्रुलाई सकुशल बाहिर निकालेको जनाएको छ। उद्धारपछि उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

प्रहरीका अनुसार, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोक्न निर्देशन दिइएको भए पनि चालकहरूले बेवास्ता गर्दै गाडी अघि बढाउँदा घटना भएको हो। यात्रुहरूको ज्यान र सम्पत्तिमा खतरा पुर्‍याएको आरोपमा पाँच चालकलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखेर थप अनुसन्धान भइरहेको छ।

सुरक्षा निकायले वर्षायाममा खोलानाला तथा जोखिमयुक्त स्थान पार गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् . 












Comments