‘रवि जोगाउने’ नियमावली विवादमा: कांग्रेस असन्तुष्ट, संशोधन ल्याउने तयारी


वैशाख २३, २०८३ (बुधबार), काठमाडौं — प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै तयार गरिएको भन्दै कांग्रेसले उक्त मस्यौदामा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।

संसद् समन्वय बोर्डको मंगलबारको बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा केही प्रावधान संविधानको मर्मविपरीत र विधिशास्त्रीय दृष्टिले गम्भीर रहेको उल्लेख गर्दै अनिवार्य सुधारको माग गरिएको छ।

नयाँ नियमावलीमा संघीय कानुनभन्दा माथि रहने गरी विशेष कानुनको मान्यता दिने प्रावधान समावेश गरिएको छ, जसले सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्था प्रभावहीन हुने आशंका कांग्रेसले व्यक्त गरेको छ। यसबाट सांसद पदमा रहेका व्यक्तिलाई निलम्बनसम्बन्धी प्रावधान निष्क्रिय बन्न सक्ने बताइएको छ।

यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएपछि तत्कालीन सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई निलम्बन गरेका थिए। तर प्रस्तावित नियमावली कार्यान्वयनमा आएमा यस्ता अवस्थाहरूमा फरक अभ्यास हुन सक्ने संकेत गरिएको छ।

यसैबीच, कांग्रेसले अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति पनि कडा आपत्ति जनाएको छ। संसद् अधिवेशन बोलाएर तत्काल स्थगित गर्दै अध्यादेश जारी गर्नु विधायिकी अधिकारमाथि प्रहार भएको भन्दै पार्टीले यसलाई संसदीय प्रणालीविरुद्धको कार्यको रूपमा व्याख्या गरेको छ।

कांग्रेसले संविधानविपरीतका प्रावधानहरूविरुद्ध संसद्मा सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै सुशासन र नागरिक अधिकारका पक्षमा आफ्नो अडान कायम रहने जनाएको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments