सर्वोच्चको आदेशपछि केही घण्टामै शेखर गोल्छा पुन, पक्राउ, अनुसन्धान थप पेचिलो बन्दै


मिति: २१ बैशाख २०८३, सोमबार | काठमाडौँ


काठमाडौँमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको केही घण्टाभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पुनः नियन्त्रणमा लिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको थियो। तर सोही राति सीआईबीले उनलाई अर्को मुद्दाको आधारमा पुनः पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार गोल्छामाथि दुई फरक मुद्दामा अनुसन्धान भइरहेको छ। धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको मुद्दामा अदालतको आदेश लागू भए पनि बिमा ऐन, २०७९ अन्तर्गतको अर्को कसुरमा अनुसन्धान जारी रहेकाले उनलाई पुनः नियन्त्रणमा राखिएको हो।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, “एक मुद्दामा आदेश आए पनि अर्को अनुसन्धान प्रक्रियामा रहेकाले उहाँलाई छाडिएको होइन।”

गोल्छालाई गत वैशाख १० गते काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीसहित ६ जनामाथि मिलेमतोमा सेयर कारोबार गरेको आशंका गरिएको छ।

उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनुसन्धानका क्रममा कानुनी प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको देखिएको भन्दै धरौटी प्रक्रिया अपनाउन आदेश दिएको थियो।

तर बिमा ऐनअन्तर्गतको अर्को आरोपमा पक्राउ अनुमति कायम रहेको भन्दै प्रहरीले पुनः नियन्त्रणमा लिएको हो। यसअघि पनि गोल्छालाई हिरासतमा राख्न अदालतबाट चार पटकसम्म अनुमति लिइएको बताइएको छ।

यो घटनाले कानुनी प्रक्रिया, आर्थिक अनुसन्धान र उच्चस्तरीय व्यावसायिक व्यक्तिहरूमाथिको कारबाहीबारे थप बहस चर्किएको छ।
© अनलाइन न्युज पोस्ट

👍 सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments