समयअघि नै सम्पन्न भएको रतुवा खोलामाथिको झोलुंगे पुल, जसले मिर्चाडाँगी गाउँको आवतजावतलाई सहज बनाएको छ।

१० जेठ २०८३, आइतवार | विराटनगर

मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँका बासिन्दाका लागि वर्षौंदेखिको समस्या अन्ततः समाधान भएको छ। रतुवा खोलामाथि निर्माण गरिएको झोलुंगे पुल निर्धारित समयभन्दा झण्डै १४ महिनाअघि नै सम्पन्न भएपछि स्थानीयमा खुसी छाएको छ।

बर्खायाममा खोला तर्दा ज्यान जोखिममा राख्नुपर्ने अवस्था अब अन्त्य भएको स्थानीयले बताएका छन्। गाउँलाई बाहिरी क्षेत्रसँग जोड्ने मुख्य माध्यम बनेको पुल सञ्चालनमा आएपछि दैनिक आवतजावत निकै सहज भएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागमार्फत निर्माण गरिएको मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज करिब ७४७ मिटर लम्बाइको रहेको छ। यो पुल पूर्वी तराई क्षेत्रकै लामो झोलुंगे पुलमध्ये एक मानिन्छ।

वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार मिर्चाडाँगीमा करिब एक सय परिवार बसोबास गर्छन्। बर्खामा रतुवा खोलाको बहाव बढ्दा गाउँका बासिन्दा बाहिरी संसारसँग लगभग विच्छेद हुने अवस्था थियो। विशेषगरी विद्यालय जाने विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित हुने गरेका थिए।

उनका अनुसार अब पुल सञ्चालनमा आएपछि विद्यार्थीहरूले नियमित रूपमा विद्यालय पुग्न थालेका छन्। यसले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको स्थानीय जनप्रतिनिधिको भनाइ छ।

पुलले कृषि क्षेत्रलाई पनि ठूलो राहत दिएको छ। विगतमा किसानहरूले उत्पादन गरेका धान, मकै, तरकारी लगायतका कृषि उपज बजारसम्म पुर्‍याउन निकै कठिनाइ भोग्नुपर्थ्यो। अहिले भने पुलमार्फत कृषि उत्पादनको ढुवानी सहज भएको छ।

काठमाडौंस्थित थानी निर्माण सेवा प्रालिले भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा लिएको थियो। २०८२ असार ११ गते सम्झौता भएको परियोजना २०८४ असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य थियो।

निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार कामलाई तीव्र गतिमा अगाडि बढाइएकाले तोकिएको समयभन्दा धेरै अघि नै पुल निर्माण सम्पन्न गर्न सफल भएको हो।

स्थानीयका अनुसार पुल निर्माणसँगै अब शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक गतिविधि तथा दैनिक जीवनका अन्य कामकाज थप सहज र सुरक्षित बनेका छन्। गाउँको विकास यात्रामा यो पुल एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .

Comments